| सोमवार, भदौ २४, २०८१

गोरखाका दुईजनाको महावाणिज्यदूतको पदावधि चारबर्ष थप

गोरखा जन्मथलो भई हाल विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका दुई जनाकोे महावाणिज्यदूत पदावधि थप भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा गत बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि उनीहरुको पदावधि थप गरेको हो ।

शहिदलखन गाउँपालिका वडा नं ९ घर भई हाल जर्मनी बसोबास गर्दै आएका रामप्रताप थापाको जर्मनीका लागि महावाणिज्यदूतको पदावधि थप भएको छ । नेपाल सरकारले जर्मनीको लागि अवैतनिक महावाणिज्यदूत थापाको पदावधी ४ बर्ष थप गरेको हो । नेपाल सरकारले उनलाई सन् २००३ मा पहिलो पटक जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत बनाएको थियो।

उनी सन् २००० देखि जर्मन–नेपाल मैत्री संघका अध्यक्ष पनि हुन्। उनले जर्मनीमा रहेर नेपाली पर्यटन प्रवर्धन तथा नेपालको शैक्षिक, स्वास्थ्य, भौतिक, आर्थिक लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका छन् ।उनी गैरआवासीय नेपाली संघका संस्थापक हुन् ।

यस्तै, सरकारले गोरखा नगरपालिका वडा नं ११ स्थाई घर भई हाल अमेरिकाको क्यालिफोर्निया बस्दै आएका ऋषि ढकालको महावाणिज्यदूतको पदावधि पनि चार बर्षका लागि थप गरेको छ । क्यालिफोर्निया राज्यको स्यानडिएगो क्षेत्रको लागि कार्यरत अवैतनिक महावाणिज्यदूत ढकालको पनि ४ बर्षका लागि पदावधी थप भएकोे छ ।

ढकाललाई सन् २०१३ मा नेपाल सरकारले पहिलोपटक अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको थियो भने सन् २०१५ मा उनी महावाणिज्यदूतमा बढुवा भएका थिए । त्यसपछिको सरकारले हरेक समय उनको पदावधि थप गर्दै आइरहेको छ । यसपटकको थप पदावधिसंगै ढकाल आगामी २०२८ सम्म महावाणिज्यदूतको रुपमा कार्यरत रहने छन् ।

ढकालले नेपाली हस्तकला र तयारी पोशाकलाई अमेरिकाको विभिन्न शहरमा चिनाउन उल्लेख्य योगदान गरेका छन् । उनी नेपाली उत्पादनलाई अमेरिकामा निकासी गर्ने उत्कृष्ट निर्यातकर्ता पनि हुन् ।उनकै पहलमा नेपालबाट विभिन्न समयमा अमेरिका पुर्याइएका नेपाली प्राचिन मूर्तीलाई नेपाल फिर्ता ल्याउने काम समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्