| शुक्रबार, जेष्ठ ४, २०८१

मजदुर दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइयो

१३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस बुधबार जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गोरखाले मजदुर अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम गरी अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।

एमाले गोरखाका उपसचिव मनोज कुमार जोशीको प्रमुख आतिथ्यता र जिफन्ट गोरखाका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । वक्ताहरुले मजदुर श्रम सम्मान र श्रम मूल्यको ग्यारेन्टी गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा एमाले युवा नेता दिनेश तमु, नेपाल स्वतन्त्र यातायत मजदुर संगठन गोरखाका अध्यक्ष राम बहादुर सुनार, जिफन्ट गोरखा नगरका अध्यक्ष डिल्लीराम भट्ट र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रताप ढकाल लगायतले मन्तव्य राखेका थिए ।

यस्तै नेपाली काङग्रेसको छाता सङगठन ट्रेड युनियन काङग्रेसले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी १३५ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ । कार्यक्रमका सहभागीहरुले राजनीतिक दलहरुले श्रमिक वर्गको मुद्दा बिर्सेको बताएका छन् ।

ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष शिव थापाको अध्यक्षता एवं नेपाल काङग्रेसका जिल्ला सचिव किशोरजङ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसचिव लुमनाथ लामिछाने, ट्रेड युनियन काङ्ग्रेसका गण्डकी प्रदेश उपाध्यक्ष वेदप्रसाद अधिकारी, शिक्षक संघका अध्यक्ष लक्ष्मण आचार्य, प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्