जिल्ला दररेटको अन्तिम खाका तयार
आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि जिल्ला दररेटको अन्तिम खाका तयार गरिएको छ । आइतवार बसेको जिल्ला दररेट निर्धारण समितिको दोस्रो बैठकले दररेटको अन्तिम खाका तयार पारेको हो ।
आगामी आव सिमेन्टको मूल्य केही घटाइएको स्रोतले जनाएको छ । डण्डी, ढुंगा, गिटी, वालुवाको मूल्य भने यथावत राखिएको बताइएको छ । स्रोतका अनुसार दक्ष, अर्धदक्ष र अदक्ष सबै कामदारहरुको ज्याला पनि आगामी आव नबढ्ने भएको छ । ‘कृषि, भेटेरीनरी र वनसँग सम्बन्धित निर्माण सामग्रीको हकमा सम्बन्धित कार्यालयले उपलब्ध गराएको दररेटलाई नै आधार मान्ने भन्ने सहमति भएको छ,’ स्रोत भन्छ । तयार गरिएको दररेटको अन्तिम खाकालाई आज सोमवार पुनः बैठक बसेर टुंगो लगाइने बताइएको छ ।
सार्वजनिक खरिद नियमावलीको नियम १४८ अनुरुप प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला दररेट निर्धारण समिति हुन्छ । सोही अन्तरगत जिल्लाका प्रजिअ भोला दाहालको अध्यक्षतामा आइतवार बैठक बसेर आगामी आवको जिल्ला दररेटको अन्तिम खाका तयार पारिएको हो । समितिले निर्धारण गरेको दररेट गोरखा बजार क्षेत्रमा कायम हुने र बजार क्षेत्रबाट अन्यत्रको हकमा ढुवानी रकम थप हुने बताइएको छ ।