सबै वडामा बाह्रैमहिना गाडी चल्ने सडक बनाउँछु : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बारपाक सुलिकोट गाउँपालिका भित्रका सबै वडामा बाह्रै महिना गाडी चल्ने सडक निर्माण गर्ने बताएका छन् । बारपाक सुलिकोट गाउँपलिकामा पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
भूगोलको कारणले पिछडिएको पालिका भएकाले त्यहाँ सडक निर्माण प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उनले बताए । ‘मेरो निर्वाचन क्षेत्रमध्य भूगोल र सडकको कारणले बारपाक सुलिकोट पिछडिएको पालिका हो, त्यसैले पालिकाभित्रको हरेक वडामा बाह्रै महिना गाडी चलाउन सक्ने सडक निर्माण गर्ने मेरो लक्ष्य हो,’ उनले भने, ‘सबै सडक कालो पत्रे बनाउन सक्छु सक्दिन त थाहा छैन, तर मेरो कार्यकालमा यहाँको सबै सडक बाह्रै महिना चल्न सक्ने बनाउँछु ।’
यो क्रमिक रुपमा सुरुवात भएको पनि उनले जानकारी दिए । यो वर्ष बारपाक सुलिकोटभित्रका सडक निर्माण गर्न मात्रै १५ करोडको बजेट विनियोजन गरिएको मुख्यमनत्री पाण्डेले बताए । पालिकाभित्रको तीन वटा सडक मसेल–जराङ–पन्द्रुङ,सौरपानी–हुँडीफाँट र देउराली–अमले–बाह्रमुले सडक खण्ड यही वर्षबाट बहुवर्षीय योजना लगिने उनले घोषणा गरेका छन् ।
संघ सरकारको पहल मार्फत सञ्चालन हुने मोटरेबल पुल सडकको कामअघि बढाउनका लागि पनि प्रदेशको ध्यानाकर्षक भएको र त्यसमा समन्वय गरेर क्रमिक रुपमा अघि बढ्ने उनले बताए । प्रदेश सरकारद्वारा पालिका भित्र सञ्चालनमा रहेका सडक निर्माणको कामहरु बजेटको अभाव विना नै सम्पन्न गर्ने प्रयत्न भइरहेको उनले भनाई छ ।
सीमित साधन स्रोत भित्र रहेर असिमित कामहरु पूरा गर्नु पर्ने हुनाले सबै कुरा एकै पटक पूरा हुन्छ भनेर सोच्ने हो भनी त्यो असम्भव रहेको उनले बताए । ‘हामीसँग सिमित साधन स्रोत छ, ती सीमित साधन स्रोतलाई प्रयोग गरेर असिमित कामहरु पूरा गनूृ पर्छ,’ उनले भने, ‘एकै पटकमा सबै कुरा पूरा हुन्छ भनेर सोच्ने हो भनी सम्भव पनि हुन्न र केही काम पनि सम्पन्न गर्न सकिन्न ।’ अवश्कताको आधारमा प्रथमिकतामा राखेर क्रमिक रुपमा कामहरु सम्पन्न गर्दै जाने उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले एक पालिका एक खेलमैदान अवधारण पनि अघि सारेको बताएका छन् । ‘गण्डकी प्रदेशमा ८५ वटा पालिकाहरु छन्,’ उनले भने, ‘ती सबै पालिकामा एउटा जिल्लास्तरीय नभए पालिका स्तरीय खेलमैदान होस् भनेर हामीले एक पालिका एक खेलमैदान अवधारण पनि अघि सारेका छौं ।’
साथै गण्डकी प्रदेशलाई एउटा खेल पर्यटनको माध्यमबाट पनि अघि बढाउनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको उनले जानकारी दिए । भविष्यमा खेल क्षेत्रबाट पनि आर्थिक अवस्था अरुको भन्दा राम्रो हुने हुनाले जागरुक भएर खेल खेल्न खेलाडीहरुलाई उनले प्रोत्साहन समेत गरेका थिए । जारी खेललाई अनुशासित ढङ्गबाट अघि बढाउनु सबैको दायित्व भएको उनको भनाइ छ ।
आफु विजयी भएर गएको निर्वाचन क्षेत्रको बिकासमा आफ्नो विशेष दायित्व भएको उनले बताए । आफ्नो निर्वाचन क्षेत्रमा प्रशासनिकदेखि अन्य क्षेत्रमा पनि सहयोगको अवश्यकता पर्छ त्यसमा आफू इमान्दारितापूर्वक लागिरहने उनले बताएका छन् । यता विपद्मा परेकाहरुलाई केही राहतसहितको रकम उपलब्ध गराउने पनि उनले बताएका छन् ।