गोरखा–५ मा माओवादी बिजयी
गोरखा नगरपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका बिष्णुबहादुर राना मगर बिजयी भएका छन् । आइतवार भएको उपनिर्वाचनमा कुल ४८६ मत ल्याउदै उनी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेलाई उनले ८४ मतले पछि पारे । आलेले ४०२ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार दुर्गा माया रानाले ३४५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबहादुर थापाले ८२ मत प्राप्त गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना रानाले १२ मत, नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले १०, मंगोल नेशनल अर्गनाइजेसनकी भवानी थापा मगरले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुप सिं रानाले ५ र नेशनल रिपब्लिक नेपालकी सविना तामाङले ४ मत ल्याएकी छन् ।
कुल २ हजार २२५ मतदाता रहेको उक्त वडामा १ हजार ३७३ मत खसेको थियो । जसमध्ये १८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो । माओवादी दोस्रो बनेको थियो भने एमाले तेस्रो ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसलाई हराउँदै एमालेका उम्मेदवार खिलबहादुर राना बिजयी बनेका थिए । २६ मतले हारेर कांग्रेस दोस्रो बनेको थियो भने माओवादी तेस्रो बनेको थियो ।