एमाले–माओवादी एकता घोषणा वैशाख ९ मा
काठमाडौँ — वाम एकता संयोजन समितिले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी अन्तिम तयारी गर्न एमाले र माओवादी केन्द्रलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले दुवै दललाई वैशाख ९ मै एकता घोषणा गर्ने तयारी अघि बढाउन भनेको हो । लेनिनको जन्मजयन्ती अप्रिल २२ को अवसर पारेर २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।
त्यसयता विभिन्न कालखण्डमा चिराचिरा परेको कम्युनिस्ट पार्टीका मूलधार एकताबद्ध भएको सन्देश दिन एकता घोषणाका लागि अप्रिल २२ नै उपयुक्त हुने दुवै दलले ठहर गरेका हुन् । एकताको प्राविधिक तयारी गर्न गठित समितिले पनि अप्रिल २२ लाई नै उपयुक्त भनी सिफारिस गरेको थियो । ‘दुवै कार्यदलले दिएको सुझावअनुसार वैशाख ९ गते नै घोषणा गर्ने गरी आ–आफ्ना दलका तर्फबाट तयारी बढाउन भनिएको छ,’ समितिका सदस्य एवं माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । कार्यदलले तयार गरेका दुवै प्रतिवेदन सकारात्मक रहेकाले त्यही आधारमा एकता गर्न सकिने निष्कर्ष समितिको छ ।
दुवै दलबीच एकताका विषयमा मिल्न बाँकी विषयलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारतबाट फर्केपछि टुंगो लगाइने समझदारी भएको छ । ओलीको भ्रमणलगत्तै एकता संयोजन समितिको बैठक बस्नेछ । दुवै दलबीच तीनवटा विषय टुंगो लाग्न बाँकी छ । पार्टीको दस्तावेज र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने, चुनाव चिह्न ‘सूर्य’ नै राख्ने कि परिवर्तन गर्ने, एकीकृत पार्टीको केन्द्रीय समितिमा एमाले र माओवादी पक्षबाट कति/कति जना सम्मिलित गराउने भन्ने विवाद बाँकी छ । कार्यदलस्तरमा यी विषय मिल्न नसकेपछि एकता संयोजन समितिबाटै टुंगो लगाउने गरी प्रतिवेदन तयार गरिएको हो ।
माओवादीले आफ्नो पार्टी युद्धको पृष्ठभूमिबाट आएकाले कम्युनिस्ट आन्दोलनको उपलब्धिका रूपमा ‘जनयुद्ध’ लाई स्विकार्नुपर्ने र त्यो शब्द राख्नुपर्ने अडान लिएको छ । एमालेले भने ‘जनयुद्ध’ भन्दा बृहत् अर्थ राख्ने भन्दै ‘जनक्रान्ति’ राख्न उपयुक्त हुने धारणा अघि सारेको छ । यसमा सहमति नजुटेपछि विधानसम्बन्धी प्रतिवेदनमा ‘जनयुद्ध/जनक्रान्ति’ भन्ने दुवै शब्द प्रयोग गरिएको छ । कम्युनिस्ट आन्दोलनमा भएका शान्तिपूर्ण र हिंसात्मक दुवै खालका संघर्षबाटै अहिलेको उपलब्धि भएको हो भन्नेमा दुवै दल सहमत छन् । तर ‘जनयुद्ध’ भन्ने शब्द प्रयोग गर्दा विगतमा माओवादीले गरेका सबै गल्तीको स्वामित्व आफूले पनि लिनुपर्ने भय एमाले नेताहरूको छ । त्यसैले उनीहरूले जनयुद्धको ठाउँमा जनक्रान्ति राख्न चाहेका हुन् ।
चुनाव चिह्न पनि ‘सूर्य’ नै राख्नुपर्ने एमालेको अडान छ । संसदीय चुनावहरूमा पटकपटक प्रयोग भएको सूर्य चिहन जनमानसमा भिजिसकेकाले यसको विकल्पमा जान नहुने एमाले नेताहरूको अडान छ । चुनावका लागि चिह्न सजिलो आवश्यक पर्ने उनीहरूको धारणा छ । तर माओवादीले सूर्य चिह्न राख्दा आफ्नो पार्टीको अस्तित्व नजोडिने भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखेको छ । सूर्यभित्र माओवादीले प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया–हथौडा राखेर परिमार्जन गर्नुपर्ने धारणा माओवादीको छ । तर कम्युनिस्ट पार्टीको झन्डामै हँसिया–हथौडा हुने भएकाले चुनाव चिह्नमा त्यो राख्नु आवश्यक नरहेको तर्क छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावकै क्रममा पनि दुई दल सूर्य चिह्न लिएर लड्ने मनस्थितिमा पुगेका थिए । पार्टीे केन्द्रीय समितिमा कुन दलबाट कति जना राख्ने भन्नेमा बढी विवाद छ । एकीकृत पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने तय भइसकेको छ । त्यसमा बराबरी संख्यामा राख्नुपर्ने धारणा माओवादी पक्षबाट आइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टीेबीचको एकता बराबरीको सिद्धान्तमा हुने बताएका छन् ।
कम्युनिस्ट पार्टीका दुई धारबीचको एकता भएकाले दुवैको हैसियत समान देखिनुपर्ने माओवादीको दाबी छ । तर चुनावी परिणामले माओवादीको आकार सानो भएकाले बराबरी हैसियत हुन नसक्ने एमालेको दाबी छ । विगतमा भएको आपसी भागबन्डाकै मापदण्डमा एकता हुनुपर्ने र केन्द्रीय समिति गठन हुनुपर्ने एमाले नेताहरूको भनाइ छ । दुवै दलबीच चुनावअघि उम्मेदवारी तय गर्ने बेलामा ६० र ४० प्रतिशतको भागबन्डा भएको थियो । परिणाम भने ७० र ३० को अनुपातमा आयो । चुनावी परिणाममा माओवादीको आकार अझै खस्किएपछि एमालेले नयाँ मापदण्डमा जोड दिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा माओवादीको परिणाम खस्किएपछि राष्ट्रिय सभाको चुनावका क्रममा ६७ र ३३ प्रतिशत अनुपातमा एमाले र माओवादीले उम्मेदवार तय गरेका थिए । त्यहीअनुसार राष्ट्रिय सभाको परिणाम पनि आएको थियो । अहिले एकीकृत पार्टीको केन्द्रीय समितिमा भने बराबरी हैसियतको कुरा माओवादी पक्षबाट आएपछि यो विषय कार्यदलले टुंगो लगाउन सकेन । तर एकता घोषणाअघिसम्म यो विषय मिल्न सक्ने दाबी दुवै दलको छ ।