| शुक्रबार, बैशाख २१, २०८१

मुख्त्यार भीमसेन थापाको योगदान

दुई सय तेत्तिस वर्षअघि जन्मेका सम्झनामा पनि नरहेका केही पात्रमध्ये भीमसेन थापा पनि हुन् । बोर्लाङ्गका थापाकाजी भीमसेन कसैकसैले सुगौली सन्धि गरी देश डुबाए भनेर सराप्ने गरेको पनि पाइन्छ । युगकवि सिद्धिचरण श्रेष्ठले भने भावविभोरपूर्ण खण्डकाव्य ‘भीमसेन थापा’ लेख्नुभएछ । त्यो पढ्दा आँसु वरवर हिक्क हिक्क हुने गराउँछ । ‘सुगौली सन्धि’ भन्दै उनलाई सरापी उफ्रनेहरू भने स्वाद पाइस् बल्ल भन्दा हुन् । यी वीर र दुईवटा धरहरा हाल अन्धकारमा पर्नु नियति हो ।

नेपाल माताले त्यस्ता त्यस्ता वीर पनि जन्माइन् । आज भीरुहरू यिनलाई सराप्दै हिँड्ने गरेको पाउँछु । हो, १८४२ श्रावण ९ गते शुक्रबार जनरल अमरसिंह थापा र उनकी मुख्यानी सत्यरूपाका कोखमा जेठा पुत्र भई भीमसेन थापा जन्मेका थिए । इतिहासविद् प्राज्ञ दिनेशराज पन्तद्वारा सम्पादित ‘विद्वच्छिरोमणि हेमराजको गोरखासम्बन्धी अनुसन्धान’ मा भगीरथ जैसीले लेखेको उनको कुण्डली दिइएको छ ।

राष्ट्रका यस्ता महान् सपुतहरूसित रहेको आफ्ना पूर्वजको अनन्य सम्बन्ध पाउँछु । जनरल भीमसेन थापामात्र हैन, उनका कान्छा भाइ साना जर्नेल रणवीरसिंह थापाको जीवन र गोर्खाबारे धेरै सामग्री खोज्ने काम बाँकी नै छ । शिव रेग्मीको प्रसिद्ध संग्रह ‘रणवीरसिंह थापा’ नामको शमशेरबहादुर थापाद्वारा लिखित पुस्तकमा एउटा उत्सर्गमय जीवन र तत्कालीन समाजको संक्षिप्त चित्रण छ ।

पुस्तकको आरम्भमा नै पाल्पा तानसेन–अमरनारायणको मन्दिरमा रहेको ‘त्यो (?) तामापत्रको प्रतिलिपि बोर्लाङ निवासी श्री लालजंगबाट पाएकाले त्यही प्रतिलिपिबमोजिम यहाँ छपाएको छ, आफूले रुजु गर्न पाएको छैन’ भन्ने लेखक (थापा ?) को भनाइ छ । उक्त ताम्रपत्रमा थापा वंशको जन्म घटना (तत्कालीन ?) राजा र युद्धका वीरगाथा उल्लेख छन् । त्यसमा संस्कृत भाषाको ६६ श्लोक छन् । ज्योतिषीद्वारा लिखित यी कविता हेर्दा त्यसबेला अमरसिंहका साथ रहनुभएका मेरा पूर्वज भगीरथ जैसी थापा परिवारसँगको हुनुहुन्थ्यो । अनन्य सान्निध्यता ऐतिहासिक स्मृतिहरू सम्झँदा कविताबाट अनेक कुरा प्रस्फुरण हुन पुग्यो ।

पाल्पामा रहनुभएका प्रमुख राजसल्लाहकार भगीरथ जैसीद्वारा नै सो कविता रचना भएकामा कुनै सन्देह छैन । भगीरथ जैसीबारे ‘ऐतिहासिक पत्र संग्रह’ र पुरातत्व विभागद्वारा प्रकाशित कतिपय प्रकाशमा आएका पत्रहरूको गहिरो अध्ययनबाट ज्ञात हुन्छ । बाकुमगढी पूर्वी पाल्पाको पूर्वी क्षेत्रमा पर्छ । जुन कठिनतम दुर्ग हो । उक्त युद्ध भगीरथ जैसीकै राय परामर्श र योजनाबाट सञ्चालित थियो । उनकै साधना शक्तिले केलादीघाटको हिउँ पग्ली जेष्ठमासमा उर्लेका कालीगण्डकीबाट हजारौं सेना उज्यालो नहुँदै तारेर उक्त दुर्गमा मोर्चा कस्ने कार्य भएको अनुश्रूति छन् ।

रणवीरसिंह थापालाई स्मृतिमा उतार्दा शमशेरबहादुर थापाले अनेक पक्षका धार्मिक, सांस्कृतिक मान्यताका राष्ट्रिय दृष्टिकोण शिरोपर गर्नुभएको अनुभूत हुन्छ । उनले हुमलाका पाल सम्राटको राज्य खोजी पुरानो इतिहास उजागर गरेका छन् । जुन पृथ्वी मल्लका कोटि स्तम्भबाटै पनि विदित हुन्छ । यस्तै जोशमनी सम्प्रदायका जीवन्त दर्शनका तत्व ज्ञान बुझेर सोअनुरूपका जोशमनी सम्प्रदाय अवलम्वन गर्नुभएका स्वामी महाराज अभयानन्द नै मानवशास्त्र र धर्म दर्शनका निमित्त उज्ज्वल नक्षत्र मान्नु उपयुक्त हुन्छ । तर किन हो उनी बादलभित्र छोपिएर यो देशको इतिहासमै विरानो बनेको पाइन्छ । यस्ता महान् प्रतिभाका जीवनी सन्दर्भ खोजी इतिहास निर्माण गर्नु जरुरी छ ।

थापाकालमा रौतहट प्रान्तको केही भूमि मिर्जा अब्दुल्ला नामका व्यक्तिले मेरो जागिर हो भनी बखडा गरेछ । त्यो मुद्दामा अंग्रेजहरूकहाँ सूचना गरिएछ । १८३१ मा दुई सरकारसम्बन्धी (काउन्सिल) कौशलबाट फैसला भई सो भूमि गोर्खा सरकारतर्फको हो भनेर ठहरिन गयो । लर्ड हेस्टिङ्गले गोरे साहेव (छपरा) लाई चेतसिंहलाई हाल केही नगर्नू भन्ने हुकुमनामा पठाएछ । यस कार्यमा गोर्खा सरकारका राजदूतमार्फत् गोर्खाली फौज रोक्न अनुरोध गरिएपछि गोर्खाली फौज मकवानपुरमा नै रोकियो । लर्ड हेस्टिङ्गकी विवि (मिम साहेव) मार्फत गोर्खाका वकिल दीनानाथ उपाध्यायसँग मित्रता गरी गोरखाको फौज रोकाउने काम गरेको चर्चा पनि छ । अंग्रेजले गोर्खाको सहयोग पाएमा वनारसका राजा चेतसिंहसँग लड्न अंग्रेजलाई गाह्रो पर्ने परिस्थितिले पर्दा यो कूटनीति लिएको होला ।

त्यसबेला पाल्पामा जनरल अमरसिंह थापा (भीमसेन थापाका पिता) गौंडा हेर्नुहुन्थ्यो । साथमा राजकाजका सल्लाहकार भई भगीरथ जैसी स्वयं पाल्पामा नै थिए । सदर राजधानीबाट पाल्पा पश्चिमका दून, नालापानी, अलमोडा आदि किल्लामा केन्द्रबाट पठाइने आदेशहरू खाम बन्द नगरी पाल्पा पठाइन्थ्यो । यिनै परिदृष्यभित्र त्यसबेला नेपाल एक प्रकारले अत्यन्त कठिन घडीमा पर्न गएको यथार्थ बुझ्नुपर्छ । भगीरथले पाल्पाबाट कोरामा रहनुभएका भीमसेन थापा र राजालाई पठाएका कतिपय सामरिक महत्वका पत्रहरू अवश्य हुनुपर्छ । त्यस्ता कागज, नेपाली सेना कौसी तोषखाना, गोश्वारा तहविल जैसी कोठामा आदि कहाँ कति छन् । इतिहास अनुसन्धान अध्ययन गर्ने क्रममा विभिन्न विद्वान्ले ती दस्तावेज हेरेर पढेका भनाइ सुनिन्छ । आजकल भगीरथ जैसीको चर्चा गर्दा धेरैले उनलाई ढुलौटो कोर्ने जैसी जस्तो ठान्लान् । त्यसो त जैसीले ज्योतिषशास्त्र, ग्रहण क्षत्र हेरिदिने हो । चेपे–मस्र्याङ्गदी नदीदेखि पश्चिमका सम्पूर्ण राज्यहरू होस्, उत्तर डिगर्चा भोट, जुमलो, मुस्ताङ्ग उत्तराखण्ड कुमाउँ गढवाल, शतलज क्षेत्रसम्मको प्रत्येक युद्धमा उनी नै प्रमुख युद्ध सल्लाहकार, युद्धविदे एवं युद्ध योजनाकार थिए । उनैका ज्ञानले दिएकै योजना र साइतबाट वाइसी चौबिसीदेखि अन्य ठकुरायी गोर्खा एकीकरण गरी बृहत् हिन्दु गोरखा अधिराज्य बनेको थापाकालका तथ्य बिर्सिइनै दिने त ?

अंग्रेजसितको युद्धकै मुखमा जनरल अमरसिंह थापाको अकस्मात निधनले कति ठूलो संकट भयो होला । भीमसेन थापा र थापा परिवारलाई त्यो संकटपूर्ण घडीमा साथ दिने एकमात्र भगीरथ जैसी नै थिए । भीमसेनका भाइहरू भतिजा काजी रणवीर सिंह, काजी दलभन्जन पाँडे र काजी नयनसिंहको जेष्ठ पुत्र भर्खरका नवयुवक उजिर सिंहलाई साथमा लिएर बुटवल गौंडामा अंग्रेजसँग त्यत्रो भीषण युद्ध सम्हाल्ने कार्य कति चुनौतिपूर्ण थियो होला ? यस्तो संकटबाट मुक्त गर्न साथ दिने थापाहरू र भगीरथका इतिहास यथार्थ खोज्नुपर्ने लाग्छ । यी वीरहरुप्रति अभिनन्दन तथा श्रद्धाञ्जली ।
चैतन्यराज देवकोटा
साभार ः नागरिक दैनिक ।

प्रतिक्रिया दिनुहोस्