| मङ्लबार, कार्तिक २४, २०८३

डाक्टर कुटिएपछि गोरखा अस्पतालको सेवामा समस्या, एक सातामा ५४ जना रिफर

ड्यूटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुुटपिट गरेपछि गोरखा अस्पतालको सेवा एक हप्ता यता प्रभावित बनेको छ । कात्तिक ६ गते तीन जना युवाहरुले ओपिडीमा चेकजाँच गरिरहेका डाक्टरमाथि कुटपिट गरेका थिए । उक्त घटनापछि चिकित्सक अस्पतालमा नियमित रुपमा सहजै काममा फर्किएका छैनन् ।

कात्तिक ७ देखि १४ गतेसम्म गोरखा अस्पतालबाट ५४ जना बिरामी रिफर भए । यो अन्य समयमा भन्दा धेरै हो । अस्पतालको सेवा बिस्तारसँगै एक साताभित्र यती संख्यामा बिरामी रिफर भएका थिएनन् । चिकित्सक कुटिएपछि अस्पतालले बिरामी भर्ना र उपचार भन्दा रिफर धेरै गरेको छ । भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गरिएको थियो ।

यो अवधीमा जनरल वार्डबाट रिफर ३ जना भए भने भर्ना पाँच जना मात्र भएको अस्पतालले जनाको छ । अस्पतालबाट डिस्चार्ज १३ जना भए । सात दिन बन्द भएर खुलेको अस्पतालमा सोमवार ओपिडि जाँच गर्नेको संख्या दुई सय ४० थियो । धेरैदिन बन्द भएर खुलेकाले सोमवार बिरामीको चाप धेरै रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हरिकुमार श्रेष्ठले बताए । ओपिडी टिकट १ बजेसम्म बितरण गर्ने गरिए पनि सोमवार १२ बजे सम्म मात्रै टिकट बितरण गरिएको थियो ।

सय भन्दाबढि बिरामी अस्पतालमा टिकट नपाएर फर्किएका थिए । डाक्टर कुटपिट भएको घटनामा प्रहरीले फितलो मुद्धा दर्ता गराएको थाहा पाएपछि डाक्टरहरुले केहीबेर ओपिडी बन्द गराएका थिए ।

प्रहरीले मुचुल्का गराउन आएका कारण पनि केहीबेर ओपिडी बन्द भएको अस्पतालका मेसु हरिकुमार श्रेष्ठ बताउँछन् । ‘चिकित्सकको मनोबल गिरेको छ, सुरक्षा संवेदनशिलता बढेको छ’, उनले भने ‘दोषीलाई हदैसम्मको कडा कारवाही हुनुपर्छ भन्ने हाम्रो माग छ ।’

डाक्टर कुटपिट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका ८ का २८ वर्षीय समिर कुँवर, १९ वर्षीय अनुप बस्नेत, गोनपा ३ का २६ वर्षीय प्रमोदजंग कुँवरलाई पक्राउ गरी हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनीहरुले कात्तिक ६ गते दिउँसो अस्पताल भित्रै डाक्टर पराजुलीलाई कुटपिट गरेका थिए ।

यो पनि पढ्नहोस्

प्रतिक्रिया दिनुहोस्