| शुक्रबार, बैशाख १४, २०८१

हर्मीमा पार्क बनाउने योजना, चिटिक्क बन्यो पोखरी

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ हर्मीमा पार्क बनाउने योजनामा स्थानीय अग्रसर भएका छन् । डिभिजन बन कार्यालय गोरखाको सहयोगमा पार्कमा पूर्वाधार निर्माणको काम सुरु भएको छ ।
बरालबोट भिमसेन क्षेत्र पोखरी निर्माण तथा संरक्षण समितिका अध्यक्ष सम्भु ढकालले पहिले भैँसीबस्ने आहाल अहिले पोखरीको रुपमा निर्माण गरिएको बताए । ‘यहाँ बिस्तारै पार्कको पुर्वाधार निर्माण गरेर पर्यटक आकर्षित गर्ने योजनामा छौँ’ उनले भने ।
त्यहाँ २५ रोपनी सार्वजनीक जग्गा छ । दुई सय घरधुरी हर्मीका स्थानीयले पहिले पिउँदै आएको पानीको धारा पनि छ । धाराको संरक्षण र पोखरीको जगेर्ना गर्ने काम अहिले सिमसार ब्यवस्थापन कार्यक्रम अन्र्तगत बन डिभिजन कार्यालयले गरेको कार्यालयका सुचना अधिकारी महेश पौडेलले बताए ।


बरालबोट हरियाली उद्याधन क्षेत्र संरक्षण समिति पनि छ । उक्त समितिले चौतारो निर्माण, सिँढी बाटो बनाउने, तारबार लगाउने, बिरुवा रोप्ने, नाली बनाउने काम गरेको अध्यक्ष दिपक न्यौपानेले बताए । उक्त पार्क क्षेत्र ‘पिकनिक स्पोट’ को रुपमा बिकास गर्ने योजना रहेको उनले बताए ।
डिभिजन बन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले काम सन्तोषजनक भएको बताए । साथै उनले यस्ता कामले पर्यटन बिकास, बतावरण संरक्षणमा दिर्घकालीन फाईदा पुग्ने भएकाले उपभोक्ताहरु आफु सचेत भएर समयमै काम गर्न सुझाब दिए ।
पोखरी र पार्क एकै स्थानमा रहेकाले दुबै संरक्षण गर्न बन कार्यालय सँगै स्थानीयले पनि श्रमदान गरेको बताएका छन् । ‘अझै काम गर्न धेरै बाँकी छ’ पोखरी निर्माण समितिका अध्यक्ष सम्भु ढकालले भने ‘आगामी वर्ष पनि यो पार्क र पोखरीलाई बजेट बिनियोजन भयो भने बल्ला केही आकार आउने थियो ।’

प्रतिक्रिया दिनुहोस्