पत्रकारहरु भोलि हेर्न आए हुन्छ, हामी एकताको तयारी गर्दैछौँ – ओली
युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे ।
उनले भने, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई÷तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।”एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गरे । ।
अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने ठोकुवा पनि उनले गरे। सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार, कालोबजारी, तस्करीको विरुद्ध अभियान छेड्न युवालाई आह्वान गरे।
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी गरे ।