| शुक्रबार, बैशाख २१, २०८१

गिटी, बालुवा उत्खनन मुद्दा पेचिलो : भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएला

 

ढुंगा, गिटी, बालुवा उत्खनन गर्न नपाउँदा यतिबेला गोरखाका निर्माण व्यबसायीहरु बिचलित भएका छन् । खोला नदीमा मेसिन किमार्थ प्रयोग गर्न नदिने अडानमा अनुगमन तथा समन्वय समिति टसकामस भएको छैन । मेसिन प्रयोग नगरी नछाड्ने अडान लिएर निर्माण व्यवसायीहरुले बालुवा उत्खनन छोडेर बसेका छन् ।
आईई प्रतिवेदनअनुसार उनीहरुले हात वा हाते औजारको प्रयोग गरी उत्खनन र संकलन गरिनेछ भन्ने पत्रमा सम्झौता गरेका छन् । दोस्रो बिकल्पमा रहेको हलुवा मेसिन प्रयोग गरिनेछ भन्ने पनि सो पत्रमा उल्लेख छ । तर पहिलो बुँदा छाडेर दोस्रो बुँदाअनुसार मेसिन प्रयोगको अनुमति दिन विशेष परिस्थितिको खोजी अनुगमन समितिको छ ।
फागुन बितिसक्न लाग्यो, तर अहिलेसम्म दुवै पक्ष आ(आफ्नो अडानमै छन् । समझदारी बन्न सकेको छैन ।
ठेकेदारको पक्षबाट स्थानीय सरकारले वकालत गरिरहेको छ । यो मुद्दामा अनुगमन समिति र प्रदेश सरकारको एक स्वर छ । स्थानीय सरकार र ठेकेदार एकाकार छन् ।
त्यसैले स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला अनुगमन तथा समन्वय समिति तथा निर्माण व्यवसायी, क्रसर व्यवसायी एकसाथ बसेर बार्ता गर्नु आवश्यक मात्र होइन, अपरिहार्य भइसक्यो । जति ढिला भयो, उति विकास निर्माण अलपत्र परेको मुद्दा पेचिलो बन्दै जान्छ र आयोजनाको जोडदार माग सम्बोधन गर्ने निहुँमा हलुका मेसिनको साँटो एक्साभेटर नै प्रयोग गर्ने अनुमति दिने परिस्थिति नआउला भन्न सकिन्न । अर्कातिर ठेक्का नलागेका घाटहरुमा चोरी निकासी बढ्ने सम्भावना पनि ज्यादै छ । त्यसैले भुइँको टिप्न खोज्दा पोल्टाकै पोखिने जोखिम पनि छ ।
बिकल्प सबै कुरामा हुन्छ । यो समस्या पनि समाधानरहित भन्ने पक्कै होइन । तर एकै ठाउँ बस्न ढिला भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्