| बिहिबार, बैशाख २०, २०८१

समयमै ढुवानी भयो खाद्यको चामल, कोटा थप गर्न माग

उत्तरी गोरखाको खाद्य डिपोहरुमा यो बर्ष समयमै कोटा अनुसारको चामल ढुवानी भएको छ । सिर्दिवास डिपोमा एक हजार क्वीन्टल र नाम्रुङ बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामल ढुवानी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ ।

कार्यालयका अनुसार यो बर्ष सिर्दिवास डिपोका लागी एक हजार र नाम्रुङ बिक्री केन्द्रका लागी पाँच सय क्विन्टल कोटा स्वीकृत भएको थियो । चुम्लिङ्ग बिक्री केन्द्रमा भने चार सय २१ क्वीन्टल चामल ढुवानी भइसकेको कार्यालयकी निमित्त प्रमुख तिर्सना आले मगरले बताइन् । उनका अनुसार यो बर्ष उक्त केन्द्रका लागी पाँच सय क्विन्टल कोटा निर्धारण भएको थियो । नाम्रुङ र चुम्लिङ्ग बिक्री केन्द्रका लागी कोटा थप गर्न माग गरिएको छ ।

गाउँपालिकाको माग अनुसार कोटा थपका लागी प्रधान कार्यालयलाई अनुरोध गरिएको मगरले बताइन् । ‘नाम्रुङको लागी एक हजार र चुम्लिङ्गको लागी पाँच सय क्वीन्टल चामलको कोटा थप गर्न प्रधान कार्यालयलाई भनेका छौ,’ उनले भनिन् । उता सिर्दिबास डिपोको लागी विमलनगरबाट चामल ढुवानी हुन सकेको छैन । पटक पटक ठेक्का आव्हान गरेपनि ठेक्का नपरेपछि ढुवानीको काम अघि बढ्न नसकेको हो । ‘तेस्रो पटक पुनः बोलपत्र आव्हान भएको छ, अव काम अघि बढ्छ की !’ सुचना अधिकारी शिव सुनारले भने ।

उनका अनुसार यो बर्ष विमलनगरबाट सिर्दिबास डिपोको लागी एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्छ । यता माछाखोला डिपोमा पनि यस वर्ष निर्धारित ५ सय क्वीन्टल चामलमध्ये ९५ क्वीन्टल मात्रै ढुवानी भएको छ । बजार मूल्यभन्दा कम्पनीको मूल्य बढी हुनु तथा डिपोमा ग्राहक पुग्न टाढा हुने भएकाले माछाखोलाबाट चामल खासै नबिक्ने उनको भनाइ छ । कार्यालयका अनुसार अहिले सिर्दिवास डिपोमा ६ सय क्वीन्टल चामल मौज्दात छ ।

जिल्ला सदरमुकामको कार्यालयमा ४ सय क्वीन्टल मौज्दात रहेको सुनारले बताए । सिर्दिवास डिपोबाट सोना मंसुली चामल प्रति किलो रु ६७, स्टिम जिरा मसिनो चामल प्रति किलो रु ९२ रुपैयामा बिक्री वितरण हुने गरेको छ । त्यस्तै माछाखोला डिपोबाट सोना मंसुली चामल प्रति किलो रु ६६, स्टिम जिरा मसिनो चामल प्रति किलो रु ९० मा बिक्री भएको कार्यालयले जनाएको छ ।

यता नाम्रुङ बिक्री केन्द्रबाट सोना मंसुली चामल प्रति किलो रु ६८, स्टिम जिरा मसिनो चामल प्रति किलो रु ९२ मा बिक्री भइरहेको छ चुम्लिङ्ग बिक्री केन्द्रबाट भने सोना मंसुली चामल प्रति किलो रु ६८ र स्टिम जिरा मसिनो चामल प्रति किलो रु ९२ मा बिक्री भइरहेको बताइएको छ । गोरखाको कार्यालयमा भने सोना मंसुली चामल प्रति किलो रु ६६, स्टिम जिरा मसिनो चामल प्रति किलो रु ९० मा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्