
माओवादीबाट विजयी वडाध्यक्षद्वारा शिक्षा शाखा प्रमुख खड्काको राजिनामा माग
गोरखा नगरपालिकाका माओवादी केन्द्रबाट विजयी वडाध्यक्षहरुले शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काको राजिनामा माग गरेका छन् । मंगलवार प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले राजिनामा नआएमा कार्यपालिका बैठक बोलाउन नदिने बताएका छन् ।
आफू निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका बेला खड्काले नियम विपरीत प्रशासनको चरम दुरुपयोग गरेको आरोप उनीहरुको छ । आफ्नो अधिकारबेगर कार्यालय सहयोगीलाई वडाध्यक्षको सिफारिसमा करार म्याद थपको सम्झौता गरी तलव वृद्धि गरेको उनीहरुले आरोप लगाएका छन् ।
त्यस्तै अंग्रेजी बिषयको मावि तहमा शिक्षक नियुक्तीको बिषयमा पनि प्रश्नपत्र चुहाएको र सेटिङ मिलाएर आफ्नो नातेदारको नाम निकालेको उनीहरुले आरोप लगाएका छन् । वडा नम्वर ४, ६, ७, ८, ११ र १४ का वडाध्यक्षहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र कुमार जोशी भने स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका हुन् ।
ज्ञापनपत्र बुझाएको बारे जानकारी दिन उनीहरुले मंगलबार पत्रकार सम्मेलन समेन गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरुले मेयरका स्वकीय सचिवको बिषयलाई बढी उचालिएको बताए । ‘सवाल जवाफमा दुवैले अलि बढी बोले होला, तर त्यो घटना यतिसम्म आउनुपर्ने थिएन, यसलाई बढी उचालियो,’ वडा नम्वर ११ का अध्यक्ष रामबहादुर खड्काले भने ।

यो पनि पढनुहोस्




