| शुक्रबार, बैशाख २१, २०८१

कुकुल्याण्ड भ्रष्टाचारमा आफ्नो नाम मुछिनु कपोलकल्पित : प्रधानमन्त्री प्रचण्ड

टेलिकम भ्रष्टाचार प्रकरणमा आफ्नो नाम मुछिएको विषय भ्रामक र कपोलकल्पित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् । शुक्रबार गोरखामा आयोजित पत्रकार भेटघाटमा टेलिकम भ्रष्टाचारमा आफ्नो नाम मुछिएको विषय तथ्यहिन र आधारहिन भएको दाबी गरेका छन् ।


कुकुल्याण्ड पुस्तकमा प्रधानमन्त्रीज्यूको नाम मुछिएको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो केही पनि छैन, सबै कपोलकल्पित हो ।’


केहीदिनअघि बेलायती पत्रकार टमले बरजिसद्वारा प्रकाशित ‘कुकुल्याण्ड’ पुस्तकमा नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँको नाम जोडिएको उल्लेख गरेको छ ।


यसअघि उनले वाइडबडी जहाड भ्रष्टाचार, ललिता निवास तथा बाँसबारी जग्गा भ्रष्टाचार, भुटानी शरणार्थी भ्रष्टाचार, सुन तस्करी, मिटरव्याज पिडितको समस्या, लघुवित्त समस्या, जस्ता भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीहरुलाई कारबाहीको प्रक्रिया आफ्नो पालामा अघि बढाइएको बताएका थिए । ‘यस्तो भ्रष्टाचारमा कारबाही गर्न माओवादीबाहेक अरुले सक्दैन’, उनले भने ।


प्रतिक्रियावादीहरुले आफ्नो आयु ४८ घण्टा, तीनमहिना, छमहिना भनेर आफ्नो आयू तोकिरहेको भन्दै उनले पूरै अवधि सरकार चलाएर देखाइदिने उनले बताए । ‘सत्ता समिकरण बदलेपछि ४८ घण्टामा अपदस्त गर्छौँ भने । हेरौँ त भनेर म पनि कस्सिएर लागेको थिएँ । ४८ घण्टामा त अपदस्त भैएन’, माओवादीका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘त्यसपछि विस्वासको मत कुनै हालतमा पुग्न दिन्नौँ भने निकै ठूलो कसरत भयो । विश्वासको मत पनि पाइयो । अब केही महिना, छ महिना, तीन महिना भनेर हाम्रो जनयुद्धको आयु तोकेजस्तै प्रतिक्रियावादीहरुले मेरो पनि आयु तोकेका छन् । हेरौँ । हामीले राम्रो नीति, कार्यक्रम र बजेट ल्यायौँ भने पूरै अवधि यो सरकार जान्छ भन्ने मेरो विश्वास छ ।’


यसअघि उनले गोरखामा भेटिएको बहुमूल्य क्वार्ज कृष्टल गोरखा दरबारको पृथ्वीनारायण शाहको राजगद्दीसंगै प्रतिस्थापन गरेका छन् । सो अवसरमा बोल्दै उनले १४ महिनाको अवधिमा तीनपटक विश्वासको मत पाउने आफू नेपालको इतिहासमा पहिलो प्रधानमन्त्री भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्