| बुधबार, कार्तिक २५, २०८३

लाप्राकका युक्त गुरुङ सातचोटी सगरमाथा शीरमा

गोरखा, लाप्राकका ३४ बर्षीय युक्त गुरुङले गत मंगलबार सगरमाथाको सफल आरोहण गरेर फर्किए । इलिट एक्सपेड कम्पनीमार्फत राती १२ बजे आरोहणमा गएका उनले ८,८४८ मिटर अग्लो शिखर बिहान आठ बजे चुमे । सगरमाथा आरोहण गरेको यो उनको सातौँ पटकको अनुभव हो ।

आरोहीहरुको गाउँ भनेर चिनिने गोरखा लाप्राकका युक्त गुरुङले सातौंपटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड कायम गरेका छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने उनी गोरखाका पहिलो आरोही बनेका हुन् । यसअघि सन् २०११ मा २२ बर्षको उमेरमा उनले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि २०१७ मा, २०१८ मा, २०१९ मा, २०२२ मा र २०२३ मा सफल आरोहण गरेका हुन् । सन् २०२२ को मे १५ र १७ मा दुईपटक आरोहण गरेका थिए ।

गतबर्ष छ पटक सगरमाथा आरोहण गरेर कायम गरेको रेकर्ड यसबर्ष आफैले तोडेर सातौँपटकको नयाँ रेकर्ड कायम गरेका हुन् । साथै यसबर्ष २४ घण्टाको अन्तरालमा आठहजार भन्दा अग्ला दुई हिमाल आरोहण गरेका छन् । मंगलबार सगरमाथा आरोहण गरेका उनले बुधबारै ८,५१६ मिटर अग्लो ल्होत्सेको सफल आरोहण गरेका हुन् । केही दिनमा ८,५८६ मिटर अग्लो कञ्चनजंगाको आरोहण गर्ने तयारी गर्दैछन् ।

गुरुङ समुदायबाट उनी हाल सम्म सबै भन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । 

यसअघि उनले आठहजार मिटरभन्दा अग्ला छ वटा हिमाल आरोहण गरिसकेका छन् । गोरखास्थित ८,१६३ मिटर अग्लो मनास्लु चारपटक आरोहण गरिसकेका छन् । त्यस्तै अन्नपूर्ण प्रथम, पाकिस्तानस्थित माउण्ड केटु र ब्रोडपिक आरोहण गरेका हुन् । १७ बर्षको उमेरदेखि पर्वतारोहण क्षेत्रमा लागेका उनको भविष्य पनि पर्वतारोहण कर्ममै बिताउने लक्ष्य छ ।

यो पनि पढनुहोस्

प्रतिक्रिया दिनुहोस्